बाजुरा, असार १५ : साँफे-मार्तडी सडक खण्डअन् गत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।
वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।
उनले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताए। यसैगरी बुढीगंगा नगरपालिकामा रहेको साँफे–मार्तडी सडकसँग जोडिएको गुईगाड खोला आएपछि यातायात बन्द भएका छन् ।
खोलाको पुल निर्माण भएपछि वर्षायाममा खोलाबाट यातायातका साधन सञ्चालन हुँदै आए पनि वर्षाका कारण सवारी साधन चल्न नसकेको प्रहरीको भनाई छ । वर्षाले सडक अवरुद्ध हुँदा आवतजात गर्ने यात्रुले सास्ती भौग्दै आएका छन् । सडक खोल्नका लागि प्रयास भइरहेको प्रहरी प्रमुख बोहराले बताए।