अवस्था ठिक नभएका १६ ओटा सवारीका चालक कारवाहीमा

| 2022 Nov 01 | 07:44 pm 1213

भक्तपुर, कात्तिक १५ः भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा आज दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

आज भएको चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा खटिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्न सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.