अवस्था ठिक नभएका र लापरवाहीका साथ सवारी साधन चलाउने ३८ जना चालक कार्वाहीमा

| 2022 Sep 02 | 09:00 pm 1533

काठमाडाैं, भदाै १७ः अवस्था ठिक नभएका सवारी साधनलाई नियमित कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले यसलाई अभियानकै रूपमा थप तीब्रता दिएको छ। भक्तपुरको जगाती चोकमा बिहान ९ बजे देखि साढे १० बजे सम्म गरिएको चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने १५ जना चालक कारवाहीमा परेका छन् ।

जसमा टायर ठिक नभएको, हेड लाईट फुटेको, गाडीको अगाडीको सिसा फुटेको, फग लाईट अर्कै रङ्गको प्रयोग गरिएको, गाडीको नम्बर मेटिएको, सिसा फुटेको गाडीमा टेपले टाँसेको, हात भाँचिएको चालकले गाडी चलाउँदै गरेको लगायतका कसुरहरु रहेका छन् । त्यस्तै लापरवाहीसाथ सवारी साधन चलाउने १५ जना चालक र जथाभावी हर्न बजाउने ८ जना चालकहरु पनि कारवाहीमा परेका छन् ।

यस्तै अर्काको सवारी चालक अनुमति पत्र देखाएर बा १४ च ५९ ०५ नम्बरको बोलेरो जिप चलाउँदै गरेका चालक सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ७ का २१ बर्षीय प्रविन सिंजालीलाई पनि चेकिङकै क्रममा फेला पारी थप अनुसन्धानको लागी प्रहरी वृत्त जगाती पठाईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अवदेश
विष्ट क्षेत्रीले बताए ।

बिहान गरिएको चेकिङमा यातायात कार्यालय एकान्तकुनाका मेकानिकल ईन्जिनियर र प्रहरीको दक्ष प्राविधिक सहितको टोली खटिएको थियो । यस अघि भदौ १५ गते काठमाडौंको कीर्तिपुर स्थित टि.यु गेट नजिकैबाट तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका थिए ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न अभियानलाई तीव्रता दिईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.