अल बिदा कुन्जरमणी सर

रिपोर्ट नेपाल | 2021 Jun 02 | 02:48 pm 22517

  • महेन्द्र पाण्डेय

आज जेठ १९ गते श्री ५ वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको दिन भन्दै स्वर्गवासी राजालाई श्रद्धाञ्जली दिन विहान ५ बजे मोबाइल हातमा लिएर फेसबुक खोल्नासाथ मेरो एक्कासी स्वास रोकियो । मैले राजालाई श्रद्धाञ्जली दिन खोलेको फेसबुकमा २०४६ सालदेखिको एउटा मिलनसार मित्रलाई श्रद्धाञ्जली लेख्नुपर्ने स्थिति म माथि आई लाग्यो ।

No description available.

फेसबुकमा रेसुङ्गा बहुमुखी क्याम्पस तमघासमा दुई दशक भन्दा माथि समयदेखि अध्यापन गराउँदै आउनु भएका श्रद्धेय कुन्जरमणी गौतम सरलाई श्रद्धाञ्जली दिनुपर्ने भयो । आँखामा आँसु आयो स्वास रोकियो मोबाइलको प्याडमा औला थरथरी कापे । विगत केही दिन अघि बिरामी भएर हेलिकोप्टर मार्फत चितवन मेडिकल कलेजमा उपचारमा रहनु भएका कुन्जर सरले १८ गते राती १० बजेर २० मिनेट जाँदा हामीलाई सधैको लागि छाडेर जानुभएछ । कुन्जरमणी गौतम सर र मेरो चिनजान २०४६ को जनआन्दोलनपछि गाउँ गाउँमा संगठन गर्ने क्रममा भएको थियो । भरखर बहुदलीय व्यवस्थाको स्थापना भएको र प्रजातन्त्रको विषयमा जनतालाई गाउँ गाउँमा बुझाउनका लागि आमसभा गर्ने क्रममा कुन्जरमणी सरसँग म धेरै गाउँमा पुगेको छु । तत्कालिन नेपाली कांग्रेसका सभापति भागवत ज्ञवाली, त्रैलोक्य प्रताप सेन, चन्द्र केसी, भुवन प्रसाद श्रेष्ठ, महेन्द्र थापा, कृष्णबहादुर थापा, कुन्जर सर र म स्वंयम लगायत पैदल हिडेर संगठन गर्न हिडेको आज मेरो दिमागमा झलझली याद आइरहेको छ । त्यस बेला तत्कालिन मालेका कार्यकर्ताले आफ्नो भन्दा अरुको विचार गाउँमा जानु हुँदैन भन्दै अधिनायकवाद शैली अपनाएर हाम्रो सभा विथोल्ने गर्थे ।

No description available.

हामी धेरै गाउँ डुले पनि एउटा घटना भने मेरो दिमागमा अहिले पनि नाची रहन्छ । २०४७ को असार महिना जस्तो लाग्छ हामी भागवत दाईको नेतृत्वमा चन्द्र केसी, कुन्जर सर, कृष्णबहादुर थापा, महेन्द्र थापा, शिव पोख्रेल स्वयम् म लगायतको टोली जुभुङ्ग, बलिथुम, रातमाटा हुँदै पराल्मी सभा गर्न हिडेको थियौं । जुभुङ्गको सुर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको सभामा महेन्द्र थापा बोल्दै गर्दा अखिलका कार्यकर्ताले सभा विथोल्न खोजेका थिए । त्यो बेला कृष्णबहादुर थापाको बल र कुन्जर सरको बुद्धीले सफल बनाएर हामी झिर्वास एमबहादुर थापा सरको घरमा बास बसेका थियौं । राती अबेरसम्म कुन्जर सरले संगठनकै विषयमा कुरा गर्नुभयो । बिहान हामी निर्धारित कार्यक्रम अनुसार बलिथुम तर्फ प्रस्थान गर्यौं । बलिथुममा त्यहीका बासिन्दा थाक्सीपोखरा निम्न माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक कृष्णबहादुर केसीले कार्यक्रम मिलाएका थिए । कुन्जर सर त्यहाँ प्रजातन्त्र र जनजातीका विषयमा ज्यादै राम्रो बोल्नु भएको थियो । त्यहाँको कार्यक्रम समाप्त गरी हामी सरको जन्मथलो रातमाटा पुग्यौं । रातमाटामा राति सांस्कृतिक कार्यक्रम राखिएको थियो । कुन्जर सरसँग अचम्मको प्रतिभा थियो । सास्कृतिक कार्यक्रममा सर कान्छी फिल्मको कान्छी हे कान्छी बोलको गीतमा नृत्य गर्नुभएको थियो । एकजना इन्डीया जन्मीएकी झुमा मगर नाम जस्तो लाग्छ उनले त्यो नुत्यमा सरलाई साथ दिएकी थिइन् । त्यो नृत्य आज मेरो नजरमा घुमिरहेको छ ।

No description available.

भोलीपल्ट रातामाटाको आमसभा समाप्त गरी हामी पराल्मी तर्फ लाग्यौं । साँझ परिसकेको थियो रातामाटाबाट पराल्मी नजिकै देखियो र हामी हिड्यौं । रातामाटाबाट पराल्मीको दुरी नजिक देखिए पनि बाटो ज्यादै घुमाउरो रहेछ । जंगलको बिचमा पुगेपछि मुसलधारे पानीले हामीलाई कुट्यो । कुन्जर सर र मैले माइक बोकेका थियौं । अहिले जस्तो डिजिटल सिस्टम र मोटरबाटो थिएन । एम्प्लीफायर माइकको ढुङ्ग्रो बोकेर हिड्नु पथ्र्यो । राति १० बजे पराल्मी रमेश पोख्रेलको घरमा बास बसियो । त्यो बेला हामीसँग पराल्मी गाविसका सचिव बालकृष्ण पोख्रेल पनि सँगै थिए । हिडाई र पानीको भिजाइले थकित भएको ज्यान निदाउन समय नै लागेन । भोली पल्टको आमसभा बिथोल्न बडागाउँको दजाकोटबाट एक जना हरी नाम गरेका शिक्षकको नेतृत्वमा सयको हाराहारीमा मालेका कार्यकर्ता हाम्रो सभा स्थलमा मार्चपास गराए । आमसभामा आक्रमण भयो माइकको ढुङ्ग्रो भाँचिदिए । कृष्णबहादुर थापा भूपु सैनिक संघको अध्यक्ष थिए । उनी बक्सीङ खेलाडी पनि हुन् । हामी पनि भिड्यौं र बल्ल बल्ल नेतालाई जोगायौं । कुन्जर सरसँगको यो ३२ वर्षे यात्रामा धेरै कथा र व्यथा छन् त्यो लेखेर साध्य नै छैन । उहाँले अध्यापन गराएका विद्यार्थीहरु राज्यका अंगहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । रेसुङ्गा क्याम्पसको शैक्षिक उन्नतिको नक्षत्रका रुपमा कुन्जर सरलाई तमाम गुल्मेलीले हेर्ने गरेका थिए । सरसँगको यो लामो यात्राका क्रममा मैले पनि केन्द्रीय पत्रकारीता गर्ने इच्छाले काठमाडौं तर्फ आए सर पनि केही समय अमेरिका जानुभएछ पछिल्लो समय हामी नियमित सम्पर्कमा थियौं ।

No description available.

काठमाडौं म बस्ने ठाउँदेखि सर नजिकै बस्नुहुन्थ्यो । हामी वाकिङ्ग पनि सँगै गथ्र्यौं । मेरो अफिसमा आएर सधैं प्रेरणा दिने गर्नुहुन्थ्यो । विद्यार्थीलाई घरकै बाबुले जस्तै माया गरेर पढाउने कुन्जर सर हजारौं विद्यार्थीबाट आज विलिन हुनुभयो । उहाँको पढाउने क्षमता, असहाय, जेहेन्दार विद्यार्थीलाई निशुल्क ट्युसन पढाउने उहाँको राम्रो पक्ष थियो । गुल्मी जिल्लाले शिक्षाको एउटा सतिसाल गुमाएको छ । कुन्जर सर विद्यार्थी माझ मात्रै होइन अभिभावक माझ पनि लोकप्रिय हुनुहुन्थ्यो । सबैलाई मिलाएर हिड्न सक्ने उहाँमा विलक्षण क्षमता थियो । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको शब्दमा उहाँ विद्यार्थीको मात्रै नभएर तमाम अभिभावको पनि अभिभावक हुनुहुन्थ्यो । कुन्जर सरसँग जुन बौद्धीक र मौलिक क्षमता थियो त्यो जो कोहीमा हुँदैन । यस्तो विलक्षण क्षमता भएका शिक्षाका धरोहर श्रद्धेय कुन्जर सरलाई दैवले यसरी हरण गर्ला भन्ने सपनामा पनि सोचेको थिइन । कुन्जर सर यस अघिका धेरै यात्रामा हामी सँगसँगै यात्रा गर्दै फर्कदैँ गरेका थियाैं । तर, दुर्भाग्य तपाइकाे याे अन्तिम यात्रामा भने म सहभागी हुन नपाएकाेमा  ज्यादै दुःखी छु ।

No description available.

वसन्त भुजेलले लेखेको लकडाउन डायरीको अंग्रेजी संस्करणका लागि भुमिका लेखिदिनुभएका सरले पुस्तक प्रकाशित नहुँदै प्राण पखेरु छाड्नु भयो । कुन्जर सर तपाईंको विषयमा जति लेखे पनि कमी नै हुन्छ त्यसैले तपाईंको बैकुण्ठको बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली । श्रद्धाञ्जली ।। श्रद्धाञ्जली ।।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.