गुल्मी, जेठ १९ः अर्लाङ्कोट सेवा समाज जापानद्वारा गुल्मी जिल्लाकाे मुसिकोट नगरपालिका-९ मा रहेको अर्लाङ्कोट स्वास्थ्य चौकी र अन्य संघ संस्थालाई समेत गरी करिब दुई लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ। यस मुसिकोट नगरपालिका वडा नं. ९ अर्लाङ्कोट विकट र अधिकांश गरिब जनताहरुको बसोबास रहेको क्षेत्र हो।

कोभिड १९ ले विश्व नै तहसनहस पारी रहेको बेला यस क्षेत्रका जनताहरु पनि यसले निकै प्रभावित भई रहेका छन्। सन् २०१५ मा आफ्नो रोजगारीको सिलसिलामा जापानमा रहेका साविकको अर्लाङ्कोट गा.वि.स.का ब्यक्तिहरुद्वारा आफ्नो क्षेत्रका हरेक पक्षमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पवित्र संस्थाले यसबेला कोभिड लगायतका अन्य बिरामीहरु अक्सिजन अभावमा मर्न नपरोस भनि १ थान अक्सिजन कन्सनट्रेटर मेसिन, २ थान थर्मल गन, माक्स र सेनिटाइजर अर्लाङ्कोट स्वास्थ्य चौकीलाई स्थानीय रुपमा रहेको आफ्नो संस्था अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोट मार्फत औंपचारिक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएकाे छ।
यसै गरी सोहि कार्यक्रममा यस वडामा रहेका मा.वि. र नि.मा.वि. तहका विद्यालयहरुलाई १/१ थानका दरले ४ थान पल्स अक्सिमिटर समेत हस्तान्तरण गरिएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख सोमनाथ सापकोटा, बिशेष अतिथिहरु मुसिकोट नगरपालिका -९ का वडा अध्यक्ष नरेशराज खरेल, नगर स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि सी, समाजसेवि खड्क ब.खत्री लगायतले संस्थाले यस माहामारिको समयमा गरेको यो सहयोग अतुलनीय र महत्पूर्ण रहेको भन्दै मुक्तकण्ठले प्रसंशा गरेका थिए।
प्रमुख अतिथि सापकोटाले राज्यले गर्ने कार्य संस्थाले गरेर मेसिन लगायतका सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे।साथै विस्तृत कार्ययोजना सहित आएमा वडाको बिकासमा आफू सधै सकारात्मक रहेको समेत प्रकाश पारे।
सेवा समाज जापान र गुल्मेली सेवा समाज जापानले समेत पिपिइ, सेनिटाइजर, ग्लोवस, पल्स अक्सिमिटर, थर्मल गन लगायतका सामाग्रि स्वास्थ्य चौकीलाई प्रदान गरेकोमा इन्चार्ज कमला खरालले धन्यवाद ज्ञापन गर्नुका साथै आफ्नो संस्थाबाट सेवा नियमित गरी बिरामीको सेवामा खटिने बताइन्।

कार्यक्रममा समाजसेवी कालिदास खरेलले संस्थाको स्थापना कालदेखि हाल सम्म गरेका गतिविधि साथै जन्मभूमि प्रति देखाएको अगाध मायालाई प्रकाश पार्नुका साथै धन्यवाद दिदै प्रसंशा समेत गरेका थिए।
कार्क्रममा अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका उपाध्यक्ष विश्वनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव यज्ञमूर्ति सापकोटाको रहेको थियो। कार्यक्रमा वडाका जनप्रतिनिधि, संस्थाका प्रतिनिधि, समाजसेवि, कार्य समिति सदस्य लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो।