काठमाडौं, मंसिर १: गत आर्थिक वर्ष अपेक्षाकृत विकास (पुँजीगत) खर्च नहुँदा अर्थमन्त्री युवराज खतिवडाले संसद्मा भनेका थिए, यो वर्ष छुट दिनुस्, आगामी वर्षको दिनगन्ती सुरु गर्नुस्। तर, चालु आर्थिक वर्षको पहिलो चौमासमा गत वर्षको सोही अवधिभन्दा पनि कम पुँजीगत खर्च भएको छ।
विकास कार्यक्रमको ठूलो हिस्सा रहेको पुँजीगत बजेट यस अवधिमा ५ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ। गत वर्ष सोही अवधिमा पुँजीगत खर्च ८ दशमलव ३० प्रतिशत भएको थियो। चालु आवको चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। यो कुल पुँजीगत बजेटको ५.९५ प्रतिशत मात्र हो। कुल बजेट खर्चतर्फ दुई खर्ब २५ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको १४ दशमलव ७२ प्रतिशत हो। चालुतर्फ भने २० दशमलव ५५ प्रतिशत खर्च भएको छ।
गत वर्ष संसद्को कानुन तथा संरचना निर्माणमा समय खर्चिनुपरेको बहानाबाजी गर्दै आएका अर्थमन्त्रीलाई यसपालि ठूलै चुनौती देखापरेको छ। हालसम्म भएको खर्चले आर्थिक वर्षको सुरुआती महिनामा विकास खर्च गर्न नसक्ने, अन्तिम महिनामा अत्यधिक खर्च गर्ने प्रवृत्तिलाई थप उजागर गरेको छ । यो प्रवृत्तिले सरकारी विकास निर्माणको खर्चमा विद्यमान नीति नियम र मापदण्ड उल्लंघन हुने गरेको छ ।
२०६८र६९ को विनियोजन ऐन र सार्वजनिक लेखा समितिले असारमा २० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नपाउने व्यवस्था गरेको थियो । सुरुवाती चरणमा नै खर्च गर्न नसकेको अवस्थामा आवको अन्तिममा खर्च गर्न चाप पर्ने देखिन्छ। सरकारले आफ्नो कार्यशैली सुधार नगरेकाले खर्च प्रणालीमा सुधार नआएको अर्थविद् बताउँछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीसम्बन्धी ऐन संशोधन गरेर अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालयबाट खर्च हुनसक्ने रकम तान्नेसम्मको अधिकार दिँदासमेत सरकारले आफ्नो खर्च प्रणाली सुधार गर्न सकेन। अन्नपूर्ण पोष्ट दैनिकबाट