अर्थतन्त्र गम्भीर संकटतिर

| 2022 Mar 24 | 07:44 am 1429

काठमाडाैं, चैत १०ः चालु आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या देखिन सुरु हुँदा मौन बसेका प्रधानमन्त्री शेरबहादुर देउवा सुधारको समय घर्केपछि मात्र चिन्तित देखिएका छन्।

अर्थतन्त्र बिग्रिन थालेको ९ महिना बितिसकेको छ। मुलुक श्रीलंकाको बाटोमा जाने क्रममा त छैन भन्ने संशय पैदा भएको छ। संकटका संकेत देखिनासाथ सुधारका लागि कठोर कदम चाल्नुपर्नेमा धेरै ढिलोगरी प्रधानमन्त्री देउवाले चासो देखाएका छन्।

यहीक्रममा प्रधानमन्त्री देउवाले बुधबार उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिए।

मुलुकको अर्थतन्त्र अहिले धेरै समस्यामा गइसकेको छ। आयात चुलिएका बेला रेमिटेन्स घटेको र पर्यटनलगायतका सेवा क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन नहुँदा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति क्रमशः घटिरहेको छ। अहिले श्रीलंकाको मुख्य समस्या पनि विदेशी मुद्रा नहुनु हो। यस्तोमा प्रधानमन्त्रीले निर्देशन दिएर मात्र पुग्ने अवस्था छैन। मुलुकमा चुलिँदो आयात घटाउने ठोस निर्णय गर्नुपर्ने आवश्यक भइसकेको छ। र, यसमा प्रधानमन्त्री देउवाको हस्तक्षेप हुनुपर्ने देखिन्छ।

चालु आर्थिक वर्षको सुरुको महिना साउनमा एक खर्ब ५० अर्ब रुपैयाँको सामान आयात गरेको थियो। फागुनसम्म आइपुग्दा १३ खर्ब ८ अर्ब रुपैयाँको सामान आयात भएको छ। आयातको बढोत्तरीको ग्राफ घटेको छैन। प्रतिमहिना औसतमा एक खर्ब ४२ अर्ब रुपैयाँका सामान भित्रिइरहेका छन्।

विगतका वर्षहरूको तुलनामा उच्च आयात हुँदा त्यही अनुपातमा विदेशी मुद्दा आर्जन हुन सकेको छैन। यही कारण प्रतिमहिना औसतमा ३२ अर्ब रुपैयाँभन्दा बढी विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्था छ।

हरेक महिना विदेशबाट औसतमा एक खर्ब ४२ अर्ब रुपैयाँको वस्तु आयात भैरहेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति १३ सय ५३ अर्ब रुपैयाँ रहेकोमा माघको अन्तिमसम्म (सात महिना) आइपुग्दा सञ्चिति घटेर ११ सय ७३ अर्ब रुपैयाँमा पुगेको छ। सात महिनाको अवधिमा एक सय ८० अर्ब रुपैयाँको विदेशी मुद्रा घटेको छ।

आगामी दिनमा पनि यस्तै अवस्था रहे मुलुकमा रहेको सञ्चितिले ७ महिनाभन्दा बढी थेग्न सक्दैन। रुस–युक्रेन युद्धले आगामी दिन झनै कठोर बन्नसक्ने देखिएको छ।

मुलुकको यस्तो अवस्था भए पनि सरकार त्यत्ति धेरै चिन्तित देखिएको छैन। दिनहुँजसो निजी क्षेत्र र अर्थतन्त्रमा सरोकार राख्नेले तत्काल सुधारका कदम चाल्नुपर्ने बताइरहेका छन्।

वर्षका सुरुका दिनमा अर्थतन्त्रका सूचकमा समस्या आएको समाचार सार्वजनिक हुँदा अर्थमन्त्री जनार्दन शर्माले त्यसको सधै विरोधमात्र गरिरहे। अहिले पनि शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ भनेर सोझै ढाँटिरहेका छन्। पछिल्लो समय प्रधानमन्त्री देउवाको भने थोरै सक्रियता बढेको छ। देउवाले पछिल्ला केही दिनमा अर्थतन्त्रको वास्तविक अवस्थाबारे विभिन्न पक्षहरूबाट जानकारी लिएका छन्।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा. शिवराज अधिकारीले सरकारले कार्ययोजना बनाएर व्यापार घाटा घटाउने रणनीति लिनुपर्ने बताउँछन्। ‘अहिलेको व्यापार घाटा अर्थतन्त्रमा समस्या पार्ने खालको छ,’ प्राध्यापक अधिकारीले भने, ‘वस्तुको आयातमा कडाइ गर्दै कोटा लगाउनुपर्छ ।’ नेपाल पनि श्रीलंका जस्तो अवस्थामा पुग्न सक्ने जोखिम रहेको उनले बताए।

‘श्रीलंकाले विद्यार्थीलाई परीक्षा लिन कागज किन्न नसकेको भन्ने समाचार आइरहेको छ,’ अधिकारीले भने, ‘नेपालमा पनि यस्तो अवस्था आउन नदिन उच्च सतर्कता आवश्यक छ।’ विदेशी मुद्राको सञ्चिति घटिरहेकाले चिन्ताजनक अवस्था रहेको उनले बताए। ‘नेपाली मुद्राको पनि डिभ्यालुएसन भएको छ,’ अधिकारीले भने, ‘विदेशी मुद्रा सञ्चितिलाई जोगाउने उपाय पनि खोज्नुपर्छ।’ नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.