अर्थतन्त्रमा दबाब कायमै

रिपोर्ट नेपाल | 2022 Aug 17 | 08:00 am 1413

काठमाडौं, भदाै १: मुलुकको अर्थतन्त्रमा अझै दबाबको स्थिति कायमै रहेको छ। आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा उच्च हुँदै गएको र विप्रेषण विगतजस्तो वृद्धि नहुँदा अर्थतन्त्र जोखिममै रहेको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार २०७८/०७९ को तथ्यांकका आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो। देशमा भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने अधिक हुँदा शोधनान्तर स्थितिमा अत्यधिक चाप परेको छ। दबाब कायमै रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।

‘आयातको आकार बढेको छ। पछिल्लो महिनामा रेमिट्यान्समा सुधार आए पनि गत वर्षभन्दा वृद्धि हुन सकेन,’ उनले भने, ‘अहिले शोधनान्तर घाटा उच्च रहेकाले पनि बैंकिङ प्रणालीमा तरलताको अभाव भएको हो।’ वैदेशिक रोजगारीमा जाने उल्लेख्य बढे पनि विप्रेषण अपेक्षाअनुसार भित्रिन सकेको छैन। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५४ हजार ६ सय ६० छ। जबकि अघिल्लो वर्ष ६२.८ प्रतिशतले घटेको थियो। विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ।

  •     वैदेशिक रोजगारीमा जाने बढेअनुसार विप्रेषण बढेन
  •     शोधनान्तर घाटा साढे २ खर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चितिमा दबाब पर्नुको मुख्य कारण वैदेशिक अध्ययन पनि भएको डा. श्रेष्ठ बताउँछन्। अघिल्लो वर्ष शिक्षातर्फ २४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको थियो। तर गत आवमा भने ६७ अर्ब ७० करोड वैदेशिक अध्ययनमै बाहिरिएको छ। यससँगै भ्रमण खर्च पनि १९६.७ प्रतिशतले वृद्धि भएर ९७ अर्ब ३२ करोड पुगेको छ।

चुलिँदै व्यापार घाटा

आयातको अनुपातमा निर्यात नबढ्दा व्यापार घाटा चुलिँदै गएको छ। गत आव कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्ष २७.३ प्रतिशतले बढेको थियो। पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पन्ज आइरन, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ। पाम

तेल, ऊनी गलैंचा, धागो (पोलिस्टर तथा अन्य), जिंक सिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ। तर सोयाबिन तेल, अलैंची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ। शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो।

खाद्यजस्ता उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा आएको छैन। उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत छ। २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा घिउ तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३, ९.९२, ९.८४ र ८.५७ प्रतिशत छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.