अर्घाखाँची सिमेन्ट निर्यात सुरु

रिपोर्ट नेपाल | 2022 Oct 18 | 07:40 am 1497

भैरहवा, कात्तिक १ः अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ ।  रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

अर्घाखाँचीका उत्पादन ओपीसी र पीपीसी सिमेन्टले भारतीय गुणस्तर चिह्न पाइसकेका छन् । यो उद्योगले असोज पहिलो साता आईएसआई मार्क पाएको हो ।

उद्योगका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात हुँदा खुसी लागेको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अर्घाखाँची सिमेन्ट उद्योगको दैनिक दुई हजार दुई सय टन उत्पादन क्षमता छ । यसले क्लिङ्करसमेत उत्पादन गर्दै आएको छ । क्लिङ्कर पनि निर्यात गर्न सक्ने आफूहरूको क्षमता रहेको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताए ।

भारतको उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालमा नेपाली सिमेन्टको माग रहेको उनले बताए । “नेपालबाट करिब पाँच सय किलोमिटरसम्मको भारतीय बजारमा सिमेन्ट निर्यात गर्न सक्यौँ भने पनि ठूलो फाइदा हुनसक्छ,” अर्घाखाँची सिमेन्टको गुणस्तर राम्रो र लागतमा पनि प्रतिस्पर्धी रहेको चर्चा गर्दै मुरारकाले बताए ।

सरकारले ५० करोड रुपियाँभन्दा बढीको उत्पादन निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । यसले आफ्ना उत्पादन निर्यात गर्न प्रोत्साहन भएको छ । यसअघि तानसेन सिमेन्ट र श्री स्टिल्स्ले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेका थिए ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.