अर्घाखाँचीमा भालुको आक्रमणबाट ८० वर्षीय बृद्धको मृत्यु

| 2023 Jan 04 | 02:00 pm 1937

अर्घाखाँची, पुस २०ः जिल्लाकाे शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर–२, सितापुरमा  ८० वर्षीय रामबहादुर क्षेत्रीको भालुको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा रानी सामुदायिक वनमा क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो।

इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयवासीले उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र, ठाडा पुर्‍याए पनि उनको मृत्यु भइसकेको थियो। ‘घटना घट्न साथ हाम्रो टोली पुगेर उद्दार गरेको थियो, ‘जिप्रकाका प्रवक्ता कृष्ण घिमिरेले भने, ‘अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भयो।’ आफ्नो टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको उनले बताए।

शितगंगामा ठूलो वन क्षेत्र रहेकाले वन्यजन्तुको त्रास छ। विगतका दिनहरुमा पनि वन्यजन्तुको आक्रमण हुने गरेकाले सजकता अपनाउन प्रहरीले अनुरोध गरेको छ। सामुदायिक वन तथा आसपासका क्षेत्रहरुमा एक्लै नहिँड्न तथा हिँड्नु परेमा सावधानी अपनाइ हिँडडुल गर्न समेत प्रहरीले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.