अर्घाखाँची, मंसिर १२: बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको र १३ जना घाइते भएको प्रहरीले जानकारी दिए ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने एक जनालाई काठमाडौं रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।