संखुवासभा, माघ २५ : बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले बम विष्फोट गराएको छ । ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका हुन् ।
संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउस (विद्युत उत्पादन गृह) मा राति करिब साढे आठबजे तीनवटा बम विष्फोट गराइएको प्रहरीले जनाएको छ। चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावरहाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीन वटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए। विष्फोट किन र कस्ले गर्यो भन्ने अझै खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ। पटकपटक बम बिस्फोट भएपछि पुखुवामा सेना र प्रहरी सुरक्षाका लागि राखिएको थियो।