अरिङ्गालको टोकाइबाट छुटाछुटै ठाउँमा दुईको मृत्यु, चार घाईते

| 2022 Oct 15 | 03:48 pm 2125

उदयपुर, असाेज २९ः अरिङगालको टोकाईबाट शुक्रबार उदयपुरमा एक युवकको मृत्यु भएको छ। रुखमा रहेको अरिङ्गाल काढ्न चढेका बेला गोलै खनिएर टोक्दा जिल्लाको लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको हो।

प्रत्यक्षदर्शी गाउँलेका अनुसार बिहीबार राति स्थानीय जंगलमा कालो अरिङगाल काढ्न रुख चढेका राईसहित ३ जना टोकाईमा परेर घाईते भएका थिए। ४ जनाको टोलीले रुख चढेर चाका काढ्न लाग्दा सयौं अरिङगालको टोकाईबाट उनीसहित घाईतेमध्ये गम्भीर भएका राईको निधन भएको हो।

घाईतेमध्येका गम्भीर राईको शुक्रबार विहान निधन भएको र अन्य दुई युवाहरूकाे  घरेलु उपचार भईरहेको र स्थिति सामान्य रहेको स्थानीयले बताएका छन्। राईको शरिरमा अरिङगाल टोकेको ८० वटा घाउ रहेको प्रत्यक्षदर्शीले बताएका छन्। अन्य दुई घाईतेलाई पनि दर्जन हाराहारी अरिङगालले टोकेको चोट देखिएको स्थानीय केशर राईले बताए।

ठूलाे रुखमा रहेको अरिङगाल काढ्न यसअघि पनि केहीले प्रयास गरेको तर, नसकेकाले जिस्केको अवस्थामा काढ्ने टोलीमाथि अरिङगालको गोलै खनिदा दुर्घटना भएको स्थानीयको भनाई छ। अक्सर पटक पटक काढ्न खोज्यो भने अरिङगाल बिच्किएर छुचो र आक्रामक हुने गरेको अनुभवी बुढापाकाहरु बताउँछन्।

यसैबीच खोटाङमा पनि बिहीबार अरिङगालको टोकाईले एक फरक क्षमताका युवाको ज्यान गएको छ। उदयपुरमाजस्तै त्यहाँ पनि बिच्केको अरिङगालले टोक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २७ वर्षीय बिनोद दर्जीको ज्यान गएको हो। सुस्तमनस्थितिका दर्जीलाई गाउँकै बाटोमा हिड्दै गर्दा टोकेर घाईते बनाएपछि उपचारार्थ अस्पताल लान तयारी गर्दागर्दै घट्नास्थलमै ज्यान गएको हो।

बिनोदलाई अरिङगालले टोकेको थाहा पाएर बचाउन गएका उनका हजुरबा नैनसिंह दर्जी तथा आफन्त शर्मिला नेपालीलाईसमेत अरिङगालले टोकेर घाईते बनाएको छ। उनीहरु दुवैको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको दिरुमझुवागढी नगरपालिका ३ का वडाध्यक्ष महेन्द्र राईले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.