तनहुँ, जेठ२३ः व्यास नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल अमेरीकाको न्यूयोर्क निवासी सुवास गुरुङ्गले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम प्रदान गरेका छन्।
गुरुङले कोषका लागि १० हजार ५ सय ५५ रुपयाँ सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार उक्त सहयोग रकम हस्तान्तरण गर्दै गुरुङले जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफूले सहयोग गरेको बताए । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अभियानमा सहयोग गर्नपाएकोमा आफूलाई खुशी लागेको गुरुङले बताए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२औं साधारणसभाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पास गरेकोमा पारित प्रस्ताव अनुसार तनहुँ शाखाले कल्याणकारी कोषमा रकम संकलन अभियान सुरु गरेको हो । जस अन्तरगत हालसम्म करिब एक लाख रुपयाँ संकलन भएको तनहुँ शाखाले जनाएको छ ।