अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा

रिपोर्ट नेपाल | 2018 Sep 05 | 06:00 pm 3535

इस्लामाबाद, भदौ २० : पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुग्नुभएको छ । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

वासिङटनले ३० करोड अमेरिकी डलरको अमेरिकी सैन्य सहायता रोक्ने निर्णयको पुष्टी गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान आएका हुन् ।

अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामाबाद आएलगत्तै सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, “दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो ।” अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ ।

उनले भने, “हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,” ।

विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्ने छन् । भारतमा रहँदा अमेरिकी रक्षामन्त्री जीम म्याटिस पनि साथमा रहनु हुनेछ । भारतमा प्रतिरक्षा र व्यापारका विविध विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.