अमेरिकी राष्ट्रपति ट्रम्प पनि पुगे भियतनाम

रिपोर्ट नेपाल | 2019 Feb 27 | 08:22 am 3193

हनोइ, फागुन १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम पुगेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको थियो।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ। विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार नै भियतनामको राजधानी हनोई पुगेका थिए। दुई नेताको लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकले अनुमान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.