अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ

| 2022 Nov 28 | 05:10 pm 1265

काठमाडौं, मंसिर १२ः अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओली रहेकी छन् ।

अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।

साथै धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.