अभिषेकलाई प्रहरी श्रीमती संघको सहयोग

रिपोर्ट नेपाल | 2022 Dec 26 | 05:31 pm 2161

काठमाडौं, पुस ११ः प्रहरी सेवामा सकृय प्रहरीका श्रीमतीहरुको छाता संगठन नेपाल प्रहरी श्रीमती संघले गुल्मीका साढे दुई वर्षिय बालक अभिषेक ठकुरीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

गत मंसिर २२ गते एक्कासी बेहोस भएका बालक ठकुरीलाई २३ गते गुल्मीबाट भैरहवा मेडिकल कलेजमा चार दिन आइसियूमा राखेर उपचार गर्दा समेत स्वास्थ्य स्थितिमा सुधार नभएपछि अहिले काठमाडौं महाराजगंजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

१२ दिन आइसियूमा राख्दा समेत अभिषेकको रोग पत्ता लाग्न सकेको छैन । १८ दिन देखि उपचार गराई रहेका ठकुरीको घरको स्थिति कमजोर भएका कारण उनका बाबु प्रकाश ठकुरीले सहयोगको याचना गरेपछि रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व अनुसार समाचार प्रकाशन गरेको थियो ।

जिवन र मृत्युसँग अस्पतालको बेडमा रहेका ठकुरीको आर्थिक र स्वास्थ्य स्थिति समाचारमा देखेपछि प्रहरी श्रीमती संघले पनि सामाजिक दायित्व सम्झेर रकम सहयोग गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघकी सदस्य अनिता ढकाल अधिकारी र अरिना राई शिक्षण अस्पताल पुगेर अभिषेकका बुबालाई चेक हस्तान्तरण गरेका थिए । स्मरण रहोस यस पटकको प्रहरी श्रीमती संघले आफ्नो संगठनका परिवार भित्रका बिरामीलाई सुलभ उपचार गराउन मेघा अस्पतालसँग सम्झौता गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.