अभिनेता पल शाह आज रिहा हुने

रिपोर्ट नेपाल | 2023 Feb 27 | 07:57 am 1725

कास्की, फागुन १५ः बालयौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइको फैसला सुनाएको हो ।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएकोमा जिल्ला अदालत नवलपुरले गत २१ भदौमा बालयौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अन्ततः पल शाहलाई सबै प्रकारका अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिने फैसला भएको र उनी सोमबार तनहुँ कारागारबाट रिहा हुने बताए ।

‘सुरु नवलपुर जिल्ला अदालतको सो फसला उल्टी भई पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ उच्चको आइतबारको फैसलामा भनिएको छ, ‘शाहलाई अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

तसर्थ निजलाई अन्य मुद्दाको रोहबाट थुना वा कैदमा राख्नु नपर्ने भएपछि उनी ठीक एक वर्षपछि जेलजीवनबाट रिहा हुन लागेका हुन् ।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा गत वर्षदेखि मुद्दा चलेको थियो ।

पलको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताहरू कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी, जनकराज ढुंगाना र माधव घिमिरेले बहस गरेका थिए भने सरकारी वकिल उच्च न्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए । आइतबार करिब ३ घण्टासम्म बहस चलेको थियो ।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नाबालिगले पलविरुद्ध गत वर्ष ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि ती किशोरीले वारदातस्थल रहेको र अदालतको क्षेत्राधिकार पुग्ने भएपछि नवलपुर प्रहरीमा पनि उजुरी दिएकी थिइन् । सुरुवातमा बलात्कृत भएको भनी उजुरी दिएकी उनले पछि होस्टाइल बन्दै पलले बलात्कार नै नगरेको भनी अदालतको बकपत्रमा बयान फेरेकी थिइन् ।

पुनरावेदनमा सुरु जिल्ला अदालतले बालयौन दुरुपयोगमा सजाय गर्न गरेको फैसला कानुनसंगत नभएकाले फैसला उल्टी गरी सफाइ पाउनुपर्ने जिकिर गर्दै पलले २५ भदौमा पुनरावेदन गरेका थिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.