अब नेपाली चलचित्रको प्रतिस्पर्धा बलिउड र हलिउडसँग मात्रै : भुवन केसी

रिपोर्ट नेपाल | 2019 Feb 03 | 06:22 pm 2360

काठमाडाैँ, माघ २० : अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भएसँगै चलचित्रको चर्चा बढेको छ । चलचित्रको ट्रेलरलाई नेपाली दर्शकले रुचाएका छन् । फागुन २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण भुवन केसीले गरेका हुन् ।

त्यही दिन चलचित्र द ब्रेकअप पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ । अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो चलचित्र क्याप्टेनसँगै रिलज हुन लागेको चलचित्र द ब्रेकअपलाई सफलताको शुभकामना दिएका छन् ।

उनले नेपाली चलचित्र आफ्नो चलचित्रको प्रतिस्पर्धी बन्न नसक्ने भन्दै हलिउड तथा बलिउड चलचित्र मात्र आफ्नो चलचित्रको प्रतिस्पर्धी भएको प्रतिक्रिया दिए ।

‘उहाँहरु हामीसँगै प्रदर्शनमा आउँदै हुनुहुन्छ, तर यसलाई हामीले प्रतिस्पर्धा मानेका छैनौ ।’ चलचित्रका निर्माता केसीले भन्नुभयो, ‘एक नेपाली चलचित्र अर्को नेपाली चलचित्रको प्रतिस्पर्धी कसरी हुन सक्छ ? हामीले विदशी चलचित्रलाई विस्थापित गर्न सक्नुपर्छ र हाम्रो प्रतिस्पर्धा भनेको विदेशी चलचित्रसँग हो।’

चलचित्र क्याप्टेन फुटबलको कथामा आधारित चलचित्र हो । आफूले निर्माण गरेको चलचित्रले नेपाली खेलाडी तथा खेलप्रेमीहरुलाई प्रोत्साहन गर्ने निर्माता भुवन केसीको भनाइ छ ।चलचित्र क्याप्टेनको कथा दिवाकर भट्टराईले लेखेका हुन् भने निर्देशन पनि भट्टराई आफैले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.