अब छिट्टै काठमाडौं शहरमा विद्युतिय बस गुड्दै

रिपोर्ट नेपाल | 2019 Jul 21 | 11:06 am 2831

काठमाडौं, साउन ५:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको धुवाँमुक्त सवारी साधन उपत्यकामा चलाउने अवधारणालाई सुन्दर यातायात प्रालिले पूरा गरिदिने भएको छ ।

विगत एक वर्षदेखि उपत्यका बासीलाई धुवाँ रहित विद्युतिय सवारी साधनमा यात्रा गराउने अठोट लिएको सुन्दर यातायातले अब छिट्टै सेवा सुचारु गर्ने भएको छ । चीनको विएके मोटर्स कम्पनीसँग विद्युतिय बस खरिद गरी सेवा आरम्भ गर्ने उद्घोष गरेका सुन्दरको उद्घोष अब छिट्टै काठमाडौंको सडकमा देख्न पाइने भएको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाको नेतृत्वमा गत साता नेपालका संचारकर्मीलाई चीनको लसाङमा भएको मोटर्स कम्पनी र ब्याट्री चार्जर कम्पनीको अवलोकण भ्रमण गराइएको थियो । अवलोकण भ्रमणका क्रममा मोटर निर्माण कम्पनीबाट निर्मित सुन्दर यातायातले ल्याउन लागेको बसमा यात्रा समेत गराइएको थियो ।

नेपालमा संचालन हुने नहुने विषयमा द्विविधा पैदा भइरहेका बेला अवलोकण भ्रमणमा गएका टोलीलाई मोटर्स कम्पनीले बसमा उकालो, ओरालोमा बसले दिने सेवाका विषयमा प्रत्यक्ष यात्रा गराएर विश्वास दिलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो विद्युतिय सवारी साधनलाई दिएपछि सुन्दर यातायात आफ्नो सेवा दिन अझ हौसिएर अघि बढेको छ ।

मोटर्स कम्पनीमा निर्माण भएका दुई सुविधा सम्पन्न बस अब छिट्टै काठमाडौंको शहरमा गुड्ने भएका छन् । गुन्द्रुक जस्तौ खाँदिएर उकुसमुकुस भएर यात्रा गर्नु पर्ने यात्रुले विद्युतिय बसमा एसिको चिसो आनन्द लिन पाउने भएका छन् । सुरक्षाका दृष्टिले बसमा तीनवटा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

यसरी बस संचालनका लागि अहोरात्र खटेको सुन्दर यातायातले लसाङमा विएके कम्पनीद्धारा निर्मित गाडी संचालन गरेको एक कम्पनीको समेत अवलोकण गरेको छ । कम्पनीद्धारा लसाङमा झण्डै पाँच सय बस संचालनमा रहेको जानकारी दिइएको थियो । यो कम्पनीले दिनमा बाइस हजार भन्दा बढी यात्रुलाई विएके कम्पनीको मोटरबाट सेवा दिने गरेको बताइएको छ ।

जनरलपब्लिक बस कर्पोरेशनका प्रवन्धक नियो उ छ्याङका अनुसार विएके मोटर्स कम्पनीद्वारा निर्मित गाडीमा अत्यन्तै समस्या कमी रहेको बताउँछन् । ३० वटा स्टेशनबाट दिनमा चार हजार भन्दा बढी किमी मोटर संचालन हुने गरेको पनि कर्पोरेशनले जनाएको छ । एक हजार कामदारलाई प्रत्यक्ष अप्रतयक्ष रोजगार दिएको कर्पोरेशनको आफ्नै चार्जिङ स्टेशन र ग्यारेज रहेको छ ।

अवलोकण भ्रमणका क्रममा देखिएका र त्यहाँ व्यक्त गरिएको कुरालाई हेर्दा सुन्दर यातायातले नेपालमा छिट्टै वातावरणमैत्री विद्युतिय सवारी साधन चलाउने निश्चित प्राय छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा र विएके मोटर्स कम्पनीबीच थप एघार बस  खरिद गर्नका लागि सम्झौंता भएको छ भने पाँचवटा बस निर्माण भइरहेको छ । यसका साथै बसका पार्टपुर्जाहरू कम्पनीले उपलब्ध गराउने विषयमा पनि दुबै पक्षबीच सम्झाैंता भएकाे छ । यसले गर्दा बस बिग्रए पनि तत्काल मर्मत गरी संचालन गर्न सकिने भएकाे छ ।

सुन्दर यातायातले अन्य कम्पनीमा निर्मित गाडीका लागि पनि चार्जिङ व्यवस्थापन गर्न चिनको चार्जिङ मेसिन कम्पनीको प्राविधिक टोलीलाई नेपाल बोलाएको छ । सम्भवत यसै साता टोली नेपाल आउने भएको छ ।

सुन्दर यातायातले उपत्यकाबासीलाई बिग्रदो वातावरणबाट मुक्त गराई सुविधायुक्त वातावरणमैत्री विद्युतिय सवारी साधन चलाउने निर्णय गरेर प्रशंसनीय काम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.