अब गाउँमै न्याय, गाउँले दंग

रिपोर्ट नेपाल | 2022 Aug 26 | 07:36 am 1597

कालिकोट, भदाै १०ः सान्नी त्रिवेणी गाउँपालिकाका नागरिक ‘अब न्याय खोज्न’ जिल्लामा धाउनुपर्ने बाध्यताबाट मुक्त हुँदै छन् । घरगाउँको आँगनमै ‘सिंहदरबार’ भए पनि अघिल्ला वर्ष ‘सामान्य झैंझगडा भए मिलापत्र होस् वा न्याय खोज्न जिल्ला सदरमुकाम नै धाउनुपर्ने’ अवस्था थियो ।

सान्नी त्रिवेणी गाउँपालिकाले न्यायिक इजालस कक्ष निर्माण गरेपछि गाउँलेले घरआँगनमै न्याय पाउने भएका हुन् ।

न्यायिक समितिको कार्यसम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरिएपछि अब न्याय खोज्न जिल्ला सदरमुकाम धाउनुपर्ने दिन गएको स्थानीय हरि सञ्ज्याल सुनाउँछन् । ‘गाउँमै न्याय पाउने भएपछि हामी एकदम खुसी छौं,’ उनी भन्छन् ।

अघिल्लो सरकारले इजलास कक्षा स्थापनै नगरी फाट्टफुट्ट घटना मेलमिलान गरे पनि इजालास नै स्थापना गरी न्याय निरुपण गरेको थिएन । बिहीबार कार्यक्रमबीच इजलास कक्ष स्थापना गरिएको हो ।

जिल्ला सरकारी वकिल श्रीराम खनाल, गाउँपालिका अध्यक्ष महोन केसी, उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पार्वती सिंहलगायतको सहभागितामा इजलास कक्ष उद्घाटन गरिएको छ ।

न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधानअनुरूप प्रभावकारी रूपमा न्याय निरुपणका लागि छुट्टै ‘इजलास कक्ष’ स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।

नवनिर्मित इजलास कक्षको तीनवटै तहको सरकारमा न्यायिक ऐन रहेको र सोही परिधिमा रहेर जिल्लामै पहिलोपटक न्यायिक इजलास कक्ष स्थापना गरेको संयोजक सिंहले बताइन् । उनका अनुसार संरचना नहुँदा अघिल्लो सरकारले कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको थियो । तर, अहिले इजलास कक्ष स्थापना हुँदा कार्यसम्पादनमा सहज हुने उनको विश्वास छ ।

सरकारी वकिल खनालले न्यायिक समितिको कार्यसम्पादन ‘निष्पक्ष हुनुपर्ने’मा जोड दिँदै ‘इजलासमा रहेकाले पनि निष्पक्ष भएर काम गर्न’ आग्रह गरे ।

गाउँपालिकाबाट प्रदान गरिने सेवाप्रवाह थप व्यस्थित र सेवाग्राहीमैत्रीका लागि इजलास कक्ष आवश्यक रहेको गाउँपालिका अध्यक्ष केसी बताउँछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.