तनहुँ, असार २६ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा अबैध काठ ओसारपसार मुद्दामा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ हाल शुक्लागण्डकी नगरपालिका वडा नं २ का कृष्ण बहादुर भुजेल र तनहुँ हाल शुक्लागण्डकी नगरपालिका वडा नं २ का कृष्ण बहादुर रिमाल रहेका छन् ।
उनीहरु उपर तनहुँ जिल्ला अदालतको २०६९ असार ११ गतेको फैसलाले कृष्ण बहादुर भुजेललाई २ महिना १७ दिन र कृष्ण बहादुर रिमाललाई २ महिना २३ दिन कैद हुने गरी फैसला गरेको थियो ।
तोकिएको कैद भुक्तान गर्न बाँकी रहेका अभियुक्तहरुको खोजतालस गर्ने क्रममा २०७७ जेठ २४ गते घरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएकोमा बाँकी रहेको कैद भुक्तान गर्नको लागि कारागार कार्यालय तनहुँ पठाईएको बताइएको छ ।
ज्यान मार्ने उद्योग मुद्दाका २ फरार अभियुक्न पक्राउ
२०७७ जेठ ७ गते तनहुँ व्यास नगरपालिका वडा नं १३ बेलबास स्थित व्यास नगरपालिका वडा नं १ का २३ वर्षीय सुरज रानालाई मनोज परियारको टोलीले ज्यान मार्ने उद्देश्यले बाटो छेकी धारिलो हतियार खुकुरी तथा बियरका बोतलले शरिरका शंवेदनशिल भागहरुमा प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हाल व्यास नगरपालिका वडा नं १३ बेलबासका २६ वर्षीय मनोज परियार र रिसिङ गाउँपालिका वडा नं २ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं १३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द रहेका छन् ।
फरार रहेका उनीहरुलाई पक्राउ गरी कानून बमोजिम कारबाही गर्न सम्मानित तनहुँ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई खोजीकार्य गरी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खोजतलास गर्ने क्रममा अभियुक्तहरुलाई लुकिछिपी बसेको अवस्थामा असार २५ गते दिउँसो तनहुँ व्यास नगरपालिका वडा नं ३ सिर्जनाटोलबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरी उनीहरुलाई तनहूँ जिल्ला अदातलमा उपस्थित गराई म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको बुझिएको छ ।