अपराधिक क्रियाकलापलाई निर्मुल पार्न गृहमन्त्री थापाको निर्देशन

| 2018 Aug 10 | 02:09 pm 2148

चितवन, साउन २५: गृहमन्त्री रामबहादुर थापाले कानुनलाई हातमा लिएर अपराधिक क्रियाकलाप गर्ने अपराधिलाई कानुनको दायरामा लिई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई कानुनको कठघरामा ल्याउन समेत प्रहरीलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले उक्त कुरा कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बताएका हुन् ।

समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने गृहमन्त्री थापाको भनाई रहेको थियो ।

राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने कुरा प्रति सचेत रहन भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए।

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने उनले बताए । सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्न प्रहरी कर्मचारी सामूहिक र समर्पित रुपमा कानूनसम्मत तरिकाले लाग्नुपर्ने गृहमन्त्री थापाको जोड थियो ।

‘तालीममा पसिना बगाउनेहरुले कार्यक्षेत्रमा रगत बनाउँछ’ भन्ने नेपाल प्रहरीको आदर्शलाई सिद्ध गर्दै तालीममा प्राप्त गरेका ज्ञान र दक्षताबाट नागरिकको सेवामा लाग्न गृहमन्त्री थापाले दीक्षित प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्ने कुरामा जोड दिदै गृहमन्त्री थापाले प्रहरी प्रत्येक नागरिकको सहज पहुँचमा हुनुपर्ने कुरामा विशेष जोड दिएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै आफ्नो व्यावसायिक भविष्य संगठनभित्रै खोज्न प्रहरीलाई सचेत पारेका थिए ।

महानिरीक्षक खनालले एक्काइसौं सताब्दीको प्रहरी जनताको मनमस्तिष्कसँग खेल्ने हुनुपर्ने कुरामा जोड दिएका थिए । तालीममा सहभागी ४४१ मध्ये ४३२ जना शुक्रबार दीक्षित भएका छन् । अन्य नौमध्ये चार कारवाहीमा परेको, एकको मृत्यु भएको र चार स्वास्थ्यका कारण दीक्षान्त समारोहमा सहभागी हुन नसकेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.