जाजरकोट, फागुन ३ : जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना खण्डको भेरी नगरपालिका १, पिपिरी रुख भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या राति दस बजेसम्म ४ पुगेको छ । बस दुर्घटनामा ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट पश्चिम रुकुमको राडीबजार तर्फ जाँदै गरेको भे १ ख १३२९ को बस रिम्नाबजारदेखि डेढ किलोमिटरको दूरीमा रहेको पिपिरी रुख भीरबाट बिहीबार भेरी नदी किनारामा खसेको हो ।
पूर्व-पश्चिम यातायात व्यवसायी समितिको उक्त बस सडकबाट १ सय ५० मिटर तल भेरी नदी किनाराको बगरमा खसेको छ। मृतक र केही घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको छ।
होलुखोला प्रहरी पोष्टको इन्ट्री वुक अनुसार उक्त बसमा ११ जना यात्रु रहेको र रावतगाउँ तथा पिपेगाउँबाट चढेकासहित दर्जन यात्रु गाडीमा सवार रहेको अनुमान गरिएको प्रहरी सहायक निरीक्षक आनसिंह भण्डारीले बताए। चालकको लापरबाहीका कारण बस दुर्घटना भएको उनले बताए।
बस दुर्घटनास्थलमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका प्रहरी निरीक्षक केशर कार्कीले बताए। रातिको समय र वर्षातका कारण उद्धारमा कठिनाई भएको निरीक्षक कार्कीले बताए।
दुर्घटनामा मृत्यु भएका सहचालक सल्यानका २० बर्षीय हरि रावत, घाइते भेरी नपा १ का ५५ वर्षीय पञ्चकला राना र सकुशल उद्धार गरिएका नलगाड नपा १३, अवलगुर्ताका २१ वर्षीय डिल्लीबहादुर बोहोराबाहेकको पहिचान हुन नसकेको उनले बताए।
घटनास्थल सदरमुकाम खलंगाबाट १६ किलोमिटरको दूरीमा रहेको छ।