काठमाडौ, पुस ६ :कांग्रेसको पदाधिकारी संख्या १५ जनाको हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी १५ जना बनाउने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
अन्य नेताहरुसँगको सहमतिबमोजिम देउवाको प्रस्तावमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष र प्रवक्ता एक रहने छन्। ८ सहमहामन्त्रीमा ७ जना सहमहामन्त्रीको चयन समावेशी आधारमा महिला, आदिवासी जनजाति, मधेसी, दलित र खुल्ला प्रतिस्पर्धाबाटै हुनेछन् ।
प्रस्तावित पदाधिकारीमा कोषाध्यक्षबाहेक सबैजना महाधिवेशनबाट निर्वाचित हुनेछन्। उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।
पदाधिकारीको सङ्ख्या र निर्वाचन पद्धतिबारे मङ्गलबार साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई जनाका दरले महाधिवेशनबाट निर्वाचित गर्ने सहमति भएको थियो ।