इलाम, कात्तिक ६: ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको अन्तुमा पर्यटकको चाप स्थानीयको अपेक्षाभन्दा धेरै हुन थालेको छ । झुल्केघाम दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।
पर्यटकको भारी बोकाइएका घोडा इलामको सन्दकपुरतर्फ लगिँदै । मौसममा सुधार आएसँगै जिल्लाका विभिन्न पर्यटकीय स्थलमा भीड बढ्न थालेको आजको कान्तिपुरमा विप्लव भट्टराईले लेखेका छन् ।
पर्यटकीय क्षेत्रका होटल र होमस्टे खचाखच छन् । आउँदो मंसिरमा महोत्सव गर्ने अभियानमा लागेका अन्तुवासी पर्यटन वर्ष २०२० मा झन् पर्यटक बढ्ने भएकाले खाने वस्ने व्यवस्था मिलाउन अहिलेदेखि क्रियाशील देखिएका छन् ।

मौसममा सुधार आएसँगै अन्तुमा चाप बाक्लिएको छ । ५६ होमस्टे र ५ वटा होटलले मुस्किलले मात्र पाहुनाको व्यवस्थापन गरिरहेका छन् । अहिलेको होमस्टे र होटलको क्षमताले करिब १ हजार ४ सय जना अटाउन सकिन्छ, स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, महोत्सव र भ्रमण वर्षमा पर्यटकको चाप अझै बढ्ने निश्चित भएकाले थप बासस्थानको व्यवस्था गरिरहेका छौं ।
अन्तुपोखरी र अन्तुडाँडा नामक दुई सामुदायिक होमस्टे यहाँ सञ्चालित छन् । स्थानीयका अनुसार अब थप १ हजार ३ सय जना अटाउने बासस्थानको व्यवस्थाका लागि अरू घरहरू तयार परिँदै गरेको हो । डेढ दशकअघिदेखि व्यावासयिक पर्यटनको अभ्यासमा जुटेका अन्तुका बासिन्दाले आम्दानीको गतिलो स्रोतका रूपमा पर्यटन व्यवसायलाई स्थापित गरेका छन् ।
मेची राजमार्गको फिक्कलबाट नजिकको छिपिटारबाट सडक कालोपत्रे भएसँगै धेरैको गन्तव्यमा अन्तु परेको हो । आन्तरिक पर्यटकको घुइचो हुने यस क्षेत्रमा भारतीय र वंगाली पर्यटक पनि बढ्दै गएको अन्तु भन्ज्याङका व्यवसायी टेकबहादुर आलेले बताए ।