चितवन, जेठ १५ : चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको अभियोगमा १६ जना स्थानीय पक्राउ परेका छन्। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।
बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । फाउण्डेसनको साइट अफिसका घरमालिक सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ ।
संरचना भत्काएको अभियोगमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाएका थिए ।
शीत्तलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनीहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।