- प्रेम सुनार
गुल्मी, जेठ २६ः अन्तरजातिय प्रेम सम्वन्धका कारण रुकुम पश्चिममा डरलाग्दो घटना घटिरहेको बेला अन्तरजातिय विवाह गरी सुखद् दाम्पत्य जिवन विताएकाहरुले त्यस रुकुम घटनालाई धिक्कारेका छन् । धिक्कार्ने मध्येकी एक हुन क्षेत्रीकी छोरी भई दलित युवासंग प्रेम विवाह गरेकी अर्घाखाँचीकी खुशी केसी ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर १ चौंरीकी २० बर्षीया खुशी केसीले आज भन्दा ३ बर्ष अघि बिश्वकर्माको छोरासंग अन्तरजातिय प्रेम बिबाह गरेको र आफुहरुको दाम्पत्य जिवन निकै सुखी र खुशी रहेको बताईन् ।
उनले भनिन् –‘मेरो श्रीमानको नाम कमल वराल ( बिक ) उहाँकी श्रीमति हुन पाउनुमा म निकै हर्षित र गर्वित छु । मेरा माईती व्राम्ण परिवार हुँदै क्षेत्री हुनुहुन्छ । मेरा माईती घर तम्घास हो । तीन बर्ष अघि हामी भागेर बुटवल गएर मन्दिरमा बिबाह गरेका हौं ।
माईतीको खासै सर्पोट नभए पनि घर परिवारको ठुलो सर्पोट छ । म एकदमै खुशी छु । उनले रुकुम पश्चिमा अन्तरजातिय प्रेम सम्वन्धका कारण नवराज बिक सहितका ६ जना युवाहरुको हत्या काण्डले आफुलाई स्तब्ध पारेको पीडा सुनाईन् ।
हाम्रो समाजमा पेशाको आधारमा जात–पात वर्गकरण गरिएको पाईन्छ– उनले भनिन–तर होईन, यो संसारमा जम्मा दुई वटा जात छन् त्यो हो एउटा पुरुष र अर्को महिला अरु सबै हामी नेपाली हौं । नामका पछाडी अब सबैले नेपाली थर राखौं ।
उनले आफु सानै देखि जातपातको विरोधी भएकोले दलित समुदाय प्रति कुनै घृणा नभएकोले खुशीसाथ उहाँसंग बिबाह गरेकी हुँ । जातपात होईन माया र बिश्वास नै ठुलो कुरा हो । उहाँसंग बिबाह गरी म मान्छे मान्छे एउटै रहेछ ।
रुकुममा नवराजकी प्रेमीका सुस्मा मल्लले माया जालमा फसाएर धोका दिएको उनको तर्क छ र । सुरुमा जातपात उच निच केही होईन भन्दै माया जालमा फसाउने अनि त्यसरी ज्यानै लिने गरी धोका दिने ? सुस्मा तिमीलाई भन्दा नराम्रो पाप अरुलाई लाग्ने छैन– उनले भनिन् ।
त्यसरी कहिले प्रेम सम्वन्धका कारण, कहिले खानेपानी र कहिले मन्दिरका कारण दलितहरु कुटाई खानु पर्ने, कोही त्यसरी मारिनु पर्ने, कोही झुटा मुद्धा खेप्नु पर्ने कुराले पीडा वोध हुने बताउँदै केसीले जातिय विभेद बिरुद्ध सरकारले कडा कार्बाही गर्नु पर्नेमा जोड दिईन् ।
तीन बर्ष अघि कक्षा १२ मा पढ्दा पढ्दै प्रेम विवाह गरेको बताउँदै केसीले आफु घर परिवार र गाउँ समाजबाट कुनै पनि कुरामा निरास हुन नपरेको बताईन् । कागजमा मात्रै छुवाछुत मुक्त मुलुक र जातिय विभेद दण्डनिय अपराध सिमित भएको ब्यवहारमा लागु नहुँदा दलित समुदायहरुले अमानविय ब्यवहार भोग्नु परेको बुझाई छ ।