काठमाडौं, पुस २७ : आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
थापाले विवेकशील साझा पार्टीको ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गरेका छन् । थापाले आयोगमा ३७ मध्ये १६ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।
झण्डै डेढ वर्षअघि वैकल्पिक शक्ति बन्ने उद्घोषसहित रविन्द्र मिश्रको नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टी एकीकरण भइ विवेकशील साझा बनेको थियो ।
थापा र अर्का संयोजक रविन्द्र मिश्रबीच पार्टी सञ्चालनको विषयमा केही समयदेखि मतभेद हुँदै आएको थियो। थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।