गुल्मी, माघ २१ः गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यान्त्रिकरण औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीले सुचिकृत, कृषक समुह, सहकारी र निजि फार्महरुलाई पचास प्रतिशत अनुदानमा वितरण गरेको हो ।
परियोजना कार्यान्वयन एकाईले शुक्रबार मिनिटिलर, कर्नसेलर, ज्याप्लाण्टर लगायतका कृषि औजार वितरण गरेको छ । कृषक समुह, सहकारी र नीजि फार्महरुको माग र आवश्यकताको आधारमा यान्त्रिकरण औजार वितरण गरिएको परियोजना कार्यान्वयन एकाई गुल्मीका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् ।
यान्त्रिकीकरण औजार हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले आधुनिक कृषि उपकरणहरुको प्रयोगले कृषकहरुको उत्पादन वृद्धि गराउन सहयोग पुग्ने बताए । कृषकहरु सफल हुुदा समग्र जिल्ला नै सफल हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले आधुनिक कृषि यान्त्रिकरणहरुको प्रयोगबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा सहज पुग्ने बताए । बाहिरको आयतलाई रोक्नका लागि जिल्लामा कृषि उत्पादन बढाउन आवश्यक रहेको उनले बताए ।
त्यस अवसरमा मकै जोन सञ्चालक समितिका संयोजक शंकर पन्तले कृषि उत्पादन वृद्धि गर्न प्रशोधिकरण गर्न र औधोगिकरण सम्म पुर्याउन युवा जनशक्तिको अभाव भइरहेको अवस्थामा आधुनिकरण यन्त्र उपकरणहरु सहयोगी बनेको बताए ।
आर्थिक वर्ष २०७९÷०८० मा मागभई आएका मिनिटिलर–६०, ज्याप्लाण्टर–२५, कर्नसेलर–२५, मोटर स्प्रेयर–२८, आरी–३०, सिकेचर–३६, डिजिटल तराजु–१२, भर्याङ–७, फुट स्प्रेयर–३, पावर स्प्रेयर–५ वटा वितरण गरिने कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।
कृषकहरूलाई आधुनिक यन्त्र उपकरणहरुको प्रयोगले समय र लागत खर्चको बचत हुन्छ । यसरी वितरण गरिएको कृषि औजारले उत्पादकत्वमा वृद्धिसँगै कृषकहरुमा उत्साह जगाउने गर्दछ । जिल्लामा उत्पादनमा वृद्धि गराउने उदेश्यले यी औजारहरु वितरण गरिएको हो । गाेरखापत्र अनलाइनबाट