अनुगमन गर्ने हल्लाले गञ्जभवानीपुर बजार बन्द

रिपोर्ट नेपाल | 2019 Sep 17 | 01:26 pm 2139

बारा, भदौ ३१: जिल्लाको महागढीमाई नगरपालिकाको गञ्जभवानीपुर बजार स्थानीय प्रशासनले बजारमा अनुगमन गर्ने हल्लाले  बिहानैदेखि बन्द रहेको छ ।

राजस्व छलेर भित्र्याइएको सामान तथा गुणस्तरहीन सामान खुलेआम बिक्री वितरण भइरहेको सम्बन्धमा स्थानीय प्रशासनले अनुगमन गर्ने हल्ला चलेसँगै व्यवसायीले बजार बन्द आफै गरेको प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक विक्रम गिरीले जानकारी दिए ।

उक्त स्थानमा सञ्चालित पसल पान र भ्याटमा दर्ता नभएको, सेवाग्राहीलाई बिल नदिने र सरकारको राजस्वसमेत छल्ने तथा गुणस्तरहीन सामान विक्री गर्ने प्रचलन बढ्दै गएपछि स्थानीय प्रशासनले बाराको कलैया बरियारपुर, कोल्हवी–निजगढ लगायतका बजारमा अनुगमन गर्ने कामलाई तीव्रता दिएसँगै गञ्जभवानपुरमा समेत अनुगमन हुने हल्लैहल्लाले बजार बन्द भएको स्थानीय सोनालाल कुशवाहाले जनाए ।

साताको दुई दिन सोमबार तथा शुक्रबार गञ्जभवानीपुरमा हाट बजार लाग्ने र बजारकै दिन पसल बन्द हुँदा उपभोक्ता मर्कामा पर्ने भन्दै स्थानीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुस्तम अन्सारी सहितको पदाधिकारीको टोलीले बन्द भएको पसल खोल्न आग्रह गरेका छन् ।

यता चाडपर्वका बेला वर्षभरिका अखाद्य तथा म्याद समाप्त भएका समान खुलेआम बजारमा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले बजारमा अनुगमन तथा निरीक्षण गर्न उद्योग वाणिज्य सङ्घ तथा बजार उपभोक्ता मञ्चको पहलमा अनुगमन कार्यलाई अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयका सूचना तथा प्रशासकीय अधिकृत मुरारी कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.