काठमाडौं, साउन ६: २४ दिनदेअि अनशनरत डा गोविन्द केसीले अनशन तोडेमा प्रधामन्त्री केपीशर्मा ओलीले आफैं वार्ता गर्ने बताएका छन्। वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन्। केसीले भने जबाफ दिइसकेका छैनन्।
‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान इन वान’ वार्ता गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनशन छाडेर स्वस्थ हुनुहोस् अनि वार्ता गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ, त्यो सन्देश पठाइ सकिएको छ।’ उनका अनुसार डा. केसीको स्वास्थ्यलाई ध्यानमा दिँदै अनशन छाडेर वार्तामा आउन प्रधानमन्त्रीका तर्फबाट सो प्रस्ताव गएको हो।
शिक्षासचिव खगराज बरालको नेतृत्वमा बनेको वार्ताटोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेर मन्त्रीस्तरीय प्रतिनिधित्व हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री ओली आफैं वार्ता गर्न अग्रसर भएका हुन्। डा केसीले विधेयक फिर्ता गर्नुपर्ने अडान राखेका छन्। एकातिर संसदमा विधेयक पेस गर्ने तर अर्कोतीर वार्ता गरेर समाधान निकालौं भन्नु चलखीपूर्ण ढंगले भ्रममा पारेर माफियालार्इ सहयोग गर्ने काम भएको केसी पक्षको आरोप छ।