काठमाडौं, साउन ८: प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत २५ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्न खुला प्रस्ताव गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसका अवसरमा पार्टी सचिवालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ने क पा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि केसीको अध्यक्षतामा आयोग बनाउन सरकार तयार रहेको बताए।
‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउनुहोस्। चिकित्सा शिक्षा आयोगको अध्यक्ष पनि तपाईं आफैं बन्नुहोस्,’ ओलीले बहसमा उत्रिन चुनौती दिँदै भने, ‘तर्कपूर्ण बहस गरौं । तपाईं नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ । तपाईं नै अध्यक्ष बन्नुस् ।’
प्रधानमन्त्री ओलीले केही मानिसको अनशन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको ठोकुवा गरे। सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न भने सरकार सदैव तयार रहेको उनले बताए ।
मेडिकल एसोसिएसनका नाममा डाक्टरहरूले हुलहुज्जत गरेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारी जागिर खाएका डाक्टरले आफ्नो स्वार्थका लागि उपचार गर्दिनँ भन्नु अमानवीय भएको बताए। प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसलाई देखेर दया लागेको बताए । सबै कुरा गुमाइसकेको जसरी डा. कसीको अनशनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति गर्न खोजेको भन्दै आफूलाई दया लागेको बताए ।
पुष्पलालको नेतृत्वमा ९ वैशाख २००६ वैशाखमा नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी)को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलोपटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन ७ साउन २०३९ मा भएको थियो । पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए।