बाँके, चैत ८ : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १ सय ४० ट्यांकर नेपाल प्रवेश गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार रातिदेखि नै नेपाल भित्रिएको बताए । भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि नाकामा समस्या हुँदै आएको केसीले बताए ।
भारतको अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्यांकरसँगै अन्य मालबाहक ट्रकहरु दुई दिनदेखि रुपैडिहामै रोकिएका थिए ।
इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्यांकर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए ।
यस नाका हुदै निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता रहेको बताए ।