अध्यक्ष प्रचण्ड चाँडै चीन भ्रमणमा जाने

| 2019 Nov 29 | 02:51 pm 1892

काठमाडौं, मंसिर १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा निस्किने भएका छन् । चीन भ्रमणमा निस्कन लागेको कुरा प्रचण्ड आफैंले जानकारी गराएका छन् ।

नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताएका छन् । प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुने लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।

प्रचण्डले नेपालका राजनीतिज्ञ, बुद्धिजिवीहरु प्रो. इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन हुने गरेको भन्दै आफूहरु प्रो नेपाली भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको बताएका छन् ।

उनले भने, ‘विगतमा हामी प्रो इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन होइन, हामी गणतन्त्रमा छौं, प्रो. हुन छोडिदिऊँ, हामी त प्रो. नेपाल हौं । समग्र मुलुकको समग्र विकास र हितका निम्ति सबैसँग अधिकतम सहयोग लिनेगरी एक भएर अघि बढौं, प्रो. नेपाल बनौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाल, भारत र चीनसम्बन्धका बारेमा दुई प्लस वान होइन, त्रिदेशीय सम्बन्ध नै हुनुपर्छ भन्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.