चितवन, माघ २४: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन । भुवानीप्रसाद पौडेलको छैठौं दिनको पुण्य तिथीको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए ।
अबको राज्य समाजवाद उन्मुख भएको बताउँदै अध्यक्ष दाहालले हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ । कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको पनि अध्यक्ष प्रचण्डले बताए।
आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उनले बताएका थिए । पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने दाहालको भनाइ थियो । अध्यक्ष दाहालले स्व. पौडेलले पार्टीलाई पु¥याएको योगदानको चर्चा गरेका थिए ।
आफ्नो राजनीतिक यात्रामा आफू माडीमा आउदा बस्ने घर पौडेलको रहेको समेत स्मरण गरेका थिए । २०३६ को आन्दोलनपछिका समयमा पौडेलले पार्टी पङ्क्तिमा रहेर खेलेको भूमिका सराहनीय रहेको पनि अध्यक्ष दाहालले बताए।