‘अधिवेशनको मुखमा साथीहरु मलाई गलत देखाउन प्रचार गरेर हिंडिरहेका छन्’ : देउवा

रिपोर्ट नेपाल | 2019 Apr 17 | 04:32 pm 2114

कैलाली, ४ बैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिवेशनको मुखमा आफूलाई गलत देखाउन हुनेसम्मका प्रयासहरु भइरहेको आरोप लगाएका छन् ।

‘पार्टीका साथीहरु कांग्रेसले गरेको कामको प्रचार भन्दा पनि मेरो विरोध गर्दै हिडेका छन्,’ उनले भने, ‘ मेरो आग्रह छ , मेरो विरोध गर्दै गर्दा पार्टीलाई क्षति हुने कुराको ख्याल राखिदिनु होला । मेरोविरुद्धमा बोल्न छुट छ । पार्टीको सभापतिमा चुनाव लड्न पनि छुट सबैलाई छुट छ ।’

पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर विश्राम लिने भन्दै आगामी पार्टी महाधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने सभापति देउवाले बताए । पार्टीले थालनी गर्न लागेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्न पार्टी पंतिलाई निर्देशन पनि दिए ।

भ्रातृ संगठन अस्तव्यस्त बनेकोप्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा सभापति देउवाले भ्रातृ संगठनलाई चाँडै चुस्तदुरुस्त बनाएर लैजाने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् ।

प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कांग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको । हामीले प्रतिपक्षको भूमिकामा निभाउँदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेका छैनौं । त्यो हामीबाट हुँदैन पनि ।’ साथै वर्तमान सरकारलाई आगामी चुनावबाटै कांग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाले ठोकुवा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.