काठमाडौं, कात्तिक ९: प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा सम्बोधन गर्दै देउवाले नेपाली जनताको लडाइँ, संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।
वर्तमान सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने सभापति देउवाले बताए । सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको पनि उनले आरोप लगाए।
पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने सभापति देउवाले बताए। पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो ।
त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे।
उनले कांग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए। यसैगरी आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने प्रवक्ता शर्माले बताए ।
त्यस्तै सांसद भीमसेनदास प्रधानले लोमो समयदेखि पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने ठोकुवा गरे । चुनावमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ रहेको थियो ।
अर्का वक्ता कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र कांग्रेस बलियो हुने बताए ।
सम्बोधनकै क्रममा कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला कांग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण कांग्रेसले हारेको उनको ठम्याई रहेको थियो ।