अत्याधिक धूँवा फाल्ने १३ ओटा सवारी साधन कारवाहीमा

रिपोर्ट नेपाल | 2022 Dec 28 | 08:42 am 1069

काठमाडाैं, पुस १३ः काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक-एक ओटा गरी १३ ओटा
सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० ओटा सवारी साधनलाई चेक गर्दा १३ ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन् ।

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ
चोरीको मोटरसाइकल सहित काठमाडौको बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।

वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो । काठमाडौको जोरपाटीबाट हराएको उक्त NS२०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

मोटरसाइकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका
उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.