अड्कियो वडा अधिवेशन नै

रिपोर्ट नेपाल | 2021 Sep 06 | 08:34 am 1365

काठमाडौं, भदाै २१: क्रियाशील सदस्यताको विवाद नसुल्झिँदा कांग्रेसको २१ जिल्लाको वडाअधिवेशन कहिले हुने टुंगो छैन। निर्वाचन समितिले सदस्यता सार्वजनिक गरेका ५६ जिल्लामा वडा अधिवेशन भइरहेका छन्। शीर्ष नेतृत्व तहबाटै २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले नामावली पाएको छैन।

कांग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडाअधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। आइतबार साँझसम्म ४३ वटा जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ। २१ जिल्लाका सदस्यको सूचीबारे शीर्ष नेताहरूबीच छलफल भइरहेकाले सूची सार्वजनिक हुन नसकेको निर्वाचन समिति सदस्य तेजप्रसाद रावलले बताए। उनले भने, ‘हामीलाई आएको सूचनाअनुसार २७ गते भित्रमा ती जिल्लाको पनि सूची सार्वजनिक गरेर वडा तहको चुनाव सम्पन्न हुन्छ।’

रावलका अनुसार ५६ जिल्लामा निर्वाचन अधिकृत तोकेर क्रियाशील सदस्यताको विवरण पठाइएको छ। ‘५६ जिल्लामा २३ भदौभित्रै वडा अधिवेशन सकिन्छ।  बाँकी २१ जिल्लामा भने अब २७ गतेसम्म समय लाग्न सक्छ,’ रावलले भने।

अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन्। ‘पहिले समायोजन हुँदा र अहिले आएका नाम मूल सूचीमा भिडाएर हेर्ने हुँदा समय लागेको हो,’ डा. मीनेन्द्र रिजालले भने, ‘अब समय लाग्दैन। एक÷दुई दिनमा सूची सार्वजनिक हुन्छ।’ क्रियाशील सदस्यताको समस्या सबैभन्दा बढी प्रदेश २ का आठवटा जिल्लामा देखिएको हो।

प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन। प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्ला, बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा गरी चार जिल्ला र लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन।

त्यस्तै, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन। यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो। २१ जिल्लाको क्रियाशील सदस्यता मिलाउन कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. रिजाल सक्रिय छन्। उनीहरूबीच आइतबार पनि छलफल भएको थियो।

कांग्रेसले ७ सय ५३ वटा पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ। निर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने मिति सार्वजनिक गरेको छ।  यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा निर्धारण गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.