अठार हजार बढी सशस्त्र प्रहरी कर्मचारी फिल्डमाः जनचेतना मूलक कार्यसँगै विभिन्न ड्यूटिमा उच्च मनोवलकासाथ परिचालन

रिपोर्ट नेपाल | 2020 Mar 28 | 06:27 pm 2149

काठमाडौं, चैत १५: कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृय रहेको छ ।

यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपदमा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको छ ।

यसैबीच लागूभएको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानीय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न प्रयासहरु गरिरहेको छ ।

सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १ सय ६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५ सय ३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् ।

स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरेका छन् ।

सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ ।

यसैबीच शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १ सय ८६ जना र दार्चुलाको पुलघाटबाट २ सय २५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको छ ।

विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरीसँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।

एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेका छन् ।

यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् ।

देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । विभिन्न ५ सय ३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६ सय ४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ ।

सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६ सय १७ जना परिचालित गरेको छ । विभिन्न ठाउँमा ३ सय ७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३ सय २६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४ सय ९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको छ ।

सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढी जनशक्ति विभिन्न ड्र्यूटिमा परिचालन गरिरहेको छ । ‘लक डाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ ।

सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ ।

हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको छ ।

कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन तथा सशस्त्र प्रहरी कर्मचारीहरु आफु जोगिदै हरेक ड्यूटिमा उच्च मनोवलकासाथ कृयाशिल रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.