काठमाडौँ, मङ्सिर २३ः अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अटोमोबाइल्स उद्योग स्थापना गर्न व्यवसायीलाई आग्रह गरेका छन् । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरेका हुन् ।
अहिले अटोमोबाइल्स क्षेत्रले पु-याउँदै आएको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु-याउन व्यवसायीलाई आग्रह गर्दै उनले भने, “आजको दिनमा जहाँ पनि प्रविधि पु-याउन सकिन्छ । जनशक्ति, जमिन र बजार पनि हामीसँग छ । त्यसैले नेपालमै उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?” यसका लागि विद्युत्मा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टीलगायत सरकारले उपलब्ध गराउनुपर्ने सेवाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत मन्त्री शर्माले व्यक्त गरे ।
आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीतिको आवश्यकता औँल्याए । मन्त्री शर्माले भने, “स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिन्छ । आयात प्रतिबन्ध सम्भव छैन । स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ । ”
अर्थमन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि खाद्यान्नलगायतका उद्योग छनोट गरी आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताए । अर्थमन्त्री शर्माले अटोभित्र टायर, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतका उद्योगको सम्भावनातर्फ व्यवसायीको ध्यानाकर्षण गराउँदै यस्ता उद्योग स्थापना गरी आत्मनिर्भर हुन बनाउनुपर्ने नीति तथा आवश्यक सुधारका लागि सुझाव दिनसमेत आग्रह गरे ।
अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनका रूपमा बदल्नुपर्ने भन्दै मन्त्री शर्माले मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताए । “अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ । यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ,” मन्त्री शर्माले भने ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्थिर नीति आए नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने भन्दै व्यवसायीहरू यतिबेला सरकारकै मुख हेरेर बसिरहेको बताए । अटोमोबाइल्स कम्पनीहरू उद्योग स्थापना गर्न तयार रहेको भन्दै उनले सरकारले नीतिगत रूपमा स्पष्ट र स्थिर हुनुपर्नेमा जोड दिए । सरकारले सहजीकरण गरे नेपालमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्था गर्नुभन्दा पहिले सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने बताए । पछिल्लो समय नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको एसेम्बल हुन लागेकोमा उनले खुसी व्यक्त गरे ।
नाडाका उपाध्यक्ष करण चौधरीले अटोव्यवसायीलाई सहयोग गर्न सरकारसँग आग्रह गर्दै अटो उद्योग स्थापना गर्ने कुरा सकारात्मक भए पनि तत्काल सरकारले नीतिगत रूपमा स्पष्ट नभई नसकिने बताए । नाडाले साधारणसभापछि नेतृत्वका लागि बिहीबार निर्वाचन पनि गर्दै छ । आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । आगामी नेतृत्वका लागि धुर्व थापा र करण चौधरी नेतृत्वका लागि आ–आफ्नो प्यानल सार्वजनिक गरेर चुनावी मैदानमा छन् । निर्वाचन बिहीबार हुँदैछ । गाेरखापत्र दैनिकबाट