अझै स्टेचर र डोकोकै भरमा बिरामी

रिपोर्ट नेपाल | 2020 Nov 26 | 08:09 am 2610

जाजरकोट, मंसिर ११ःजाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्यारेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो ।

जिल्ला अस्पताल जाजरकोट, नेपाल रेडक्रस र कुमारी ट्रस्टको एम्बुलेन्स बिग्रिएका छन् । तीनवटै एम्बुलेन्स बिग्रिएपछि सरोकारवाला निकायले मर्मत नगर्दा जाजरकोट सदरमुकाममा एम्बुलेन्स अभाव भएको छ । बिरामीलाई जोखिमपूर्णरुपमा डोको, स्टेचरको सहायतामा आफन्तले अस्पतालसम्म ल्याउने गरेका छन् ।

जिल्ला अस्पतालमा बिरामीको उपचार सम्भव नभएपछि एम्बुलेन्स नहुँदा जाजरकोट अस्पतालबाट रिफर गरेका बिरामीले सार्वजनिक गाडीमा चर्को मूल्य तिरेर बिरामीलाई सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायतका सुविधा सम्पन्न अस्पताल लिएर औषधी उपचार गर्ने गरेका छन् । दुईवटा टायर, मोबिल, इन्जिन परिवर्तन गर्न दुई वर्ष पहिले नेपालगन्जको कल्लु ग्यारेजमा लगेको एम्बुलेन्स अझै मर्मत भएको छैन । रकम अभावका कारण एम्बुलेन्स मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए ।

स्वास्थ्य संस्थालाई नियमित सञ्चालन गरी कोरोना कहर कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आए पनि जाजरकोट अस्पतालले स्वास्थ्य सेवालाई सुधार गर्ने कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

विनियोजन गरेको बजेट साना सवारीसाधन मर्मतमा खर्च भएपछि रकम अभावमा मर्मत हुन नसकेको जाजरकोट अस्पतालका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए। एम्बुलेन्स मर्मतका लागि १ लाख ५० हजार खर्च हुने भएकाले रकम अभावमा एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन नसकेको पुनले बताए । जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाले मर्मतका लागि आवश्यक पर्ने बजेट स्वीकृत गराउन नसकेको उनको भनाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.