कपिलवस्तु, चैत १८ : कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको छ । हत्या हुनेमा स्थानीय ४५ वर्षीय पारस पुरी रहेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।
पुरीको छातीमा गोली लागी गम्भीर घाइते हुँदा उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले बताए । नम्बर नखुलेको एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका प्रहरीले जनाए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाहरुको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएको बुझिएको छ ।