अचानक विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द

| 2023 Feb 27 | 04:32 pm 1809

नवलपरासी, फागुन १५ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ। हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले  दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए।

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनको भनाइ थियो। ‘आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए’, उनले भने, ‘आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ।’

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ। अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताए।

हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उनको भनाइ छ। ‘यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ’ मेसु होदाले भने, ‘मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.