अघिल्लो वर्षभन्दा याे वर्ष धेरै बालिका बलात्कृत

| 2021 Feb 15 | 10:02 am 2149

गाेरखा, फागुन ३ः गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छन्।

१९ मध्ये जबरजस्ती करणी प्रयास र बलात्कार गर्ने १६ जना १८ देखि २५ वर्षका छन्। तीनवटा घटनामा मात्रै पीडक १८ वर्षमुनिका छन्। ‘बलात्कारका घटना धेरैजसो बालिकामा भएको देखिन्छ,’ गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ भने, ‘ललाइफकाइ गर्ने, तत्काल प्रतिक्रिया जनाउन नसक्ने, बालिकालाई बलात्कार र यौन हिंसाबारे थाहा नहुने भएकाले पीडकको निसानामा बालिका परेको देखिन्छ,’ उनले भने।

गत वर्ष गोरखामा जबरजस्ती करणीका १३ र प्रयासका छ गरी १९ वटा घटना भए। यी घटनामा पीडित १८ वर्ष मुनिका छ जना बालिका थिए भने भने १८ देखि २५ वर्षका युवती नौ जना थिए। बाँकी २५ वर्ष माथिका महिला थिए। घटनामा पिडक भने सबै १८ वर्ष उमेर माथिका छन्। ‘गत वर्षभन्दा यस वर्ष बालिकामाथि बलात्कारको संख्या बढेको छ,’ एसपी गुरुङले भने।

आर्थिक वर्ष २०७५÷७६ मा जबरजस्ती करणीका १५ र करणी प्रयासका सातवटा घटना भएका छन्। ती घटनामा १८ वर्षमुनिका आठजना बालिका पीडित भए भने १८ देखि २५ वर्ष उमेर समूहका नौ जना पीडित बने। यो घटनामा पीडक भने १६ वर्षमुनिका एकजना छन् भने अरू सबै १८ माथिका छन्।

पिडक जाने बुझेका, उमेरले पाको भएकाहरू देखिन्छन् भने बलात्कारको सिकार बनेका पीडित ८० प्रतिशत १६ वर्षमुनिका बालिका छन्। बार एसोसिएसन गोरखाका अध्यक्ष अधिवक्ता यादव शर्मा बालिकालाई परिबन्धमा पार्ने, डर देखाउन, लोभ्याउन पीडकलाई सजिलो भएर पनि बालिकामाथि हिंसा बढेको हुन सक्ने बताउँछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.