अग्‍नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति !

रिपोर्ट नेपाल | 2020 Jan 19 | 02:47 pm 1000

काठमाडौं, माघ ५ : प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली स्थायी कमिटी सदस्य अग्नि सापोटालाई सभामुख बनाउन सकारात्मक भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा सापकोटालाई सभामुख बनाउन ओली सकारात्मक भएको स्रोतको भनाइ छ।

‘मैले पनि सापोटाजीको नाममा सहमति भएको सुनेको छु। अन्तिम निर्णय त सचिवालयले गर्छ होला,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘सापकोटाका पक्षमा प्रधानमन्त्री सकारात्मक हुनुभएको भन्ने मैले थाहा पाएँ।’

सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो।

सभामुखका उम्मेदवारबारे निर्णय लिन नेकपाको सचिवालय बैठक आइतवारै अपरान्ह ४ बजे डाकिएको छ। ओली-प्रचण्डले सहमति जुटाएको नाम सचिवालयमा पेश गरेपछि सभामुखका उम्मेदवारको नाम पक्का हुनेछ। यसअघि सभामुखमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नो अडानले सभामुख चयन गर्न सकिएको थिएन।

प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए। यता, उसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी गरिहेकी छन्।

सभामुख चयन हुन नसक्दा पुस ४ गते बसेयता प्रतिनिधि सभाको बैठक तीन पटक स्थगित भइसकेको छ। तत्कालीन माओवादीको भागमा परेको सभामुख पद आफूहरुले पाउनुपर्ने अडान प्रचण्डले राखेका थिए।

अध्यक्ष दाहालले सभामुख छाड्न परेमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अर्को अडान लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.