अग्ला पुल हेर्न पर्यटकको घुइँचो

| 2018 Nov 20 | 11:00 am 1691

पर्वत, मंसिर ४ : जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्‍न थालेको छ ।

अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीयवलासी बताउँछन्।

मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन् । यस वर्ष झण्डै पाँच सयभन्दा बढीको सङ्ख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । उनले भने, “जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।”

मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए । अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन्। “मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,” पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भने, “पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।”

कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताए। केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ ।

अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो । कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन् । “बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन्,” पौडेलले भने ।

कालीगण्डकी, मोदीखोला र माछापुच्छ्रेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेल बताउछन्। पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ ।

कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर रहेको छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ ।

पुलमा नियमितरूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी र फलफूल बजारसम्म पुर्‍याउन सहज बनाएको मुडिकुवाका युवनाथ रेग्मीले बताए। हिउँदयाम शुरु भएसँगै पुलमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पर्यटन व्यावसायी पौडेलले बताए। होटलमा बास बस्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.