-
महेन्द्र पाण्डेय
नेपाल प्रहरीका नवनियुक्त आइजीपी ठाकुर ज्ञवाली कार्यभार सम्हालेपछि आफ्ना अग्रज खड्गजीत बरालको निवासमा आर्शिवाद लिन पुग्दाको माहौल निकै भावुक थियो । वराल नेपाल प्रहरीका पूर्व आइजीपी मात्रै होइनन् , उनको अनुभव नेपाल प्रहरीको भन्दा जेठो छ । त्यसैले बराललाई नेपाल प्रहरीको जिवित इतिहासका रुपमा लिने गरिएको छ ।

२००७ सालमा राणा शासन विरुद्ध सशस्त्र संघर्षका लागि नेपाली कांग्रेसले जनमुक्ति सेनाको गठन गरेको थियो । खड्गजीत बराल जनमुक्ति सेनाका सेक्सन कमाण्डर थिए । गिरिजाप्रसाद कोइराला भन्दा एक तह माथि थियो उनको पद । क्रान्ति सम्पन्न भइसकेपछि जनमुक्ति सेनालाई नेपाल प्रहरीमा रुपान्तरण गरियो । सुरुमा वराल प्रहरीमा जान चाहेनन् , गिरिजाप्रसाद कोइराला , निर्मल लामाले जस्तै राजनीति फाँट रोजे , तर राजनीतिलाई निरन्तरता दिन नसकिने ठहर गर्दै केही वर्ष पछि उनी प्रहरी सेवामा प्रवेश गरे ।
प्रहरी सेवामा प्रवेश गरेको करिव अढाई दशकपछि सर्वोच्च पद आइजीपी बनेर २०३९ साल ताका अवकाश भए । करिव ९० वर्षको उमेर पुगेका वराल महाराजगन्ज स्थित नेपाल प्रहरी अस्पतालको गेट नजिकै रहेको फराकिलो कम्पाउण्ड भएको निजी निवासमा बस्दै आएका छन् ।
प्रहरीका कनिष्ठदेखि सर्वोच्च तहसम्मका अधिकारीहरु अस्पतालमा प्राय जावत गर्ने गरेको बयोवृद्ध वरालले घरको कौशीबाट सँधै हेरीरहन्छन् । तर उनको हालखवर सोध्ने समेत फुर्सद प्रहरीका उच्च पदस्थ अधिकारीको हुँदैन । यस पटक भने आफ्ना हजुरबुबाको उमेरका पूर्व आइजीपी वरालबाट आर्शिवाद लिएर नवनियुक्त आइजीपि ज्ञवालीले अनुसरणयोग्य संस्कार सुरु गरेका छन् ।
आफ्ना अग्रजको सम्मान गर्ने परम्परा बसाल्दै कार्यभार सुरु गरेका नवनियुक्त आइजीपी ज्ञवालीले नेपाल प्रहरी सामु तमाम चुनौतीको कसरी सामना गर्ने हुन् ? हेर्न बाँकी छ । प्रहरी प्रधानकार्यालयको विशाल कक्षमा पूर्वआइजीपीहरुको तस्वीरको लहरमा आगामी साउन देखि ज्ञवालीको तस्वीर पनि झुण्डिनेछ । तस्वीर मात्रै झुण्डिएला कि ? केही संझन लायक काम पनि उनले गर्लान ? भन्ने हेर्न बाँकी छ । उनी आगामी असारसम्म अर्थात जम्मा पाँच महिनाका लागि मात्रै आइजीपी बनेका हुन् ।
त्यसपछि ३० वर्षे सेवा अवधीका आधारमा उनले अनिवार्य अवकास पाउनेछन् । उनी भाग्यले आइजीपी बनेका हुन् । संयोग पनि गज्जवको हुँदो रहेछ । २०४६ साल माघमा नेपाल प्रहरीको इन्स्पेक्टरको रिजल्ट निस्केपछि ज्ञवाली गोरखापत्र किन्न गए । आफ्नो नाम बैकल्पिकमा निस्केको देख्ने वित्तकै उनी छाँगाबाट खसेजस्तै भए । तर धैर्य गर्नुको विकल्प थिएन । नाम निस्केका एक जना धनाढ्यका छोरा नियुक्ति लिन नगएका कारण पाँच महिना पछि ज्ञवालीले नियुक्ति पाए । आफ्नो व्याचका साथीहरु भन्दा पाँच महिना कनिष्ठ बन्नु पर्दा उनको पेट कम्ती पोलेको थिएन होला , तर सौभाग्य त्यही पाँच महिना ढिलाईका कारण अहिले उनले आइजीपी बनेर इतिहास रच्ने मौका पाए । पहिलो लटमै नियुक्ति पाएको भए उनी सर्वेन्द्र खनालसँगै माघ २८ गते डिआइजीपीबाटै अवकास पाउने थिए ।
पुरा कार्यकाल विताउँदा पनि फोटो झुण्याउने बाहेक सिन्को भाँच्न नसकेका बरु भ्रष्टाचार प्रकरणमा जेलमा पुगेका आइजीपीहरुको संख्या नेपाल प्रहरीमा ठूलो छ । छोटो कार्यकालमा पनि देश र जनतामा छाप छाड्दै निश्कलंक छवी बनाएका आइजीपीहरुको संख्या पनि नेपाल प्रहरीमा उल्लेख्य छ । निर्वतमान आइजीपी सवेन्द्र खनालले जम्मा २२ महिना आइजीपी पद सम्हाले ।
चारैतिर अंकुश नै अंकुशले घेरिएका खनालले २२ महिना आइजीपी चलाउन सक्लान र ? जस पाउने काम गर्न सक्लान र ? भन्ने प्रश्न धेरैको थियो । अधिनायकबादको यात्रामा अघि बढेको कम्युनिष्टहरुको दुई तिहाई बहुमतको सरकारले एक पछि अर्को फाँसीवादी कदम चालिरहेको अवस्थामा लोकतान्त्रिक मुल्य मान्यतामा हुर्केका आइजीपी खनाल कसरी टिक्लान ? कसरी आफ्नो छवी जोगाउलान ? भन्ने चिन्ता नागरिक समाजका अगुवाहरुले समेत व्यक्त गरेका थिए । तर उनी यो अग्नि परीक्षमा सफल भए । निर्मला पन्त हत्या तथा बलात्कार प्रकरण बाहेक खनालको कार्यकाल भरी नेपाल प्रहरी अपराध अनुसन्धानको मामिलामा अव्वल सावित भयो । प्रहरी भित्रैका धमीराहरुलाई विना पक्षपात , तेरो मेरो नभनी तह लगाउने अभियानमा आइजीपी खनालले धेरैहदसम्म सफलता प्राप्त गरे ।
नवनियुक्त आइजीपी ज्ञवालीका लागि यो पाँच महिनाको समय अवसर र चुनौती दुवै हो । सामान्य मान्छेका लागि यो पाँच महिनाको समय बधाई तथा शुभकामना लिँदा लिँदै , आफन्तहरु सँग एक चरणको भेटघाट र कुराकानी गर्दा गर्दै वित्छ । तर मिनेट मिनेटको सदुपयोग गर्न जान्ने विशेष क्षमता भएको मान्छेका लागि त यो पाँच महिनाको समय ज्यादै ठूलो हो । अब पाँच महिनाको समयलाई सानो बनाउने या ठूलो ? नवनियुक्त आइजीपी ज्ञवालीको सामाथ्र्य , क्षमता तथा व्यवहारमा भर पर्ने कुरा हो ।
२९ वर्ष ७ महिनाको लामो कालखण्ड नेपाल प्रहरीमा विताई सकेका ज्ञवालीलाई यदी संगठन भित्र रहेका जनशक्तिको कमजोरी थाहा छ भने उनका लागि यो पाँच महिनाको समय काफी हो । ठूलो काम त यो पाँच महिनाको अवधीमा के होला र ? नीतिगत निर्णय समेत गर्न नपाई वित्छ , कार्यान्वयनको पाटो त अलग्गै छ । प्रहरीबाट सर्वसाधारण जनताले राहत महशुस गरे भने उनको कार्यकाल सफल भएको मानिन्छ , आहत महशुस गरे भने असफल भएको मानिन्छ ।
एसपीदेखि सिपाही सम्मको जनशक्ति नियमित रुपमा जनतासँग साक्षत्कार भइरहेको हुन्छ । राज्यको उपस्थितिको अनुभूति सर्वसाधरणमा पु¥याउने भनेकै सिपाहीदेखि एसपीसम्मको जनशक्तिले हो । गौंडा ढुकेर पैसा असुल्ने , चोर डाँका तथा गुण्डाहरुसँग साँठगाँठ गर्ने , तस्करहरुको धन्दामा लगानी गर्ने लगायतका धेरै अपराध कर्ममा नेपाल प्रहरीको कतिपय जनशक्तिको संलग्नता भएको सुनिन्छ । प्रहरी भनेको अर्धन्यायिक निकाय समेत हो ।
अपराधमा प्रहरी संलग्नता भनेको सामान्य कुरा होइन । यो अवस्था मुलुकमा भएको यदाकदा सुन्न पाइन्छ । यो विकृति अझ बढ्यो भने मुलुक ध्वस्त हुनेवाला छ । त्यसैले नवनियुक्त आइजीपी ज्ञवालीले पहिलो प्राथमिकता संगठनभित्रको आपराधिक गिरोहका गतिविधि नियन्त्रणलाई दिन आवश्यक छ ।